विश्व क्रिकेट जगतमा नेपालले आफ्नो उपस्थिति दिनहुँ फराकिलो बनाउँदै गइरहेको छ। पछिल्लो समयमा नेपालले क्रिकेटमा देखाएको प्रगतिउन्मुख सहभागितालाई विश्वकै क्रिकेट प्रेमीहरुले सन्तोषजनक रुपमा नियालिरहेको पाइएको छ।
नेपालले पुरुष होस् वा महिला क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाउँदै आएको बलियो दाबेदारी देख्दा कुनै पनि नेपाली खेलप्रेमीहरुलाई गर्व लाग्ने गरेको छ। नेपाली खेलाडीहरुले सिमित साधन स्रोतका बीच पनि सम्भावनाका ढोका खोल्दै गइरहेका छन्।
विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उनिहरुले देखाएको उत्कृष्ट प्रदर्शनलेनै नेपाली क्रिकेटप्रेमीको सङ्ख्या दिनहुँ बढाउँदै गएको कुरामा सहमत हुन सकिन्छ। यस कार्यमा दर्शकहरुको पनि महत्वपूर्ण योगदान रहिआएको छ। नेपाल होस वा अन्य मुलुकमा नेपाली टिमको प्रतिस्पर्धा भएको बखत हुने गरेको खेलप्रेमीहरुको अपार उपस्थितिलाई अन्तरराष्ट्रिय रुपमै आश्चर्यका रुपमा लिइएको छ।
नेपालमा विदेशबाट भित्रिएका पुरानो खेल मध्ये क्रिकेट एक मानिन्छ। तत्कालीन राणाकालदेखि नै सीमित उच्च सम्भ्रान्तहरु मनोरञ्जनका लागि क्रिकेट खेल्ने गर्दथे। नेपाल क्रिकेट सङ्घ क्यानको स्थापना विक्रम संवत् २००३ सालमा भैसकेको थियो। विगतमा सिमित घरेलु प्रतियोगितामै अल्झिरहेको नेपालले गत सन् १९९६ मा पहिलोपटक मलेसियामा प्रथम एसिसी ट्रफी क्रिकेट प्रतियोगिता खेलेर अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो। नेपाललाई विश्वव्यापी क्रिकेट मन्चमा स्थापित गराउन क्यानको भूमिका महत्वपूर्ण रहँदै आइरहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिम अष्ट्रेलिया भ्रमण टुङ्ग्याउने क्रममा रहँदा नेपाल क्रिकेट सङ्घ(क्यान) लाई राष्ट्रिय खेलकुद परिषद्ले उत्कृष्ट खेल सङ्घ घोषणा गर्यो। नेपालमा रहेका सयौँ खेल सङ्घहरुमध्ये क्यान उत्कृष्ट खेल सङ्घ घोषित भएको हो। क्यान देशकै ब्यस्त खेल क्यालेण्डर भएको उदाहरणीय खेल सङ्घ बन्न पुगेको छ। विभिन्न घरेलु क्रिकेट गतिविधि सञ्चालनका साथै अन्तरराष्ट्रिय सहभागिताको तयारीमा क्यान व्यस्त रहेको छ।
सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने ‘टि ट्वान्टी’ पुरुष विश्वकपको छनोट चरण पार गर्नका लागि क्यानले नेपाली टिमलाई नेपाल तथा भारतमा प्रशिक्षण दिनुका साथै अष्ट्रेलियाको लामो भ्रमणको व्यवस्थापन गर्यो। नेपालको अर्को टिमले भारतको आसाममा अभ्यास म्याच खेल्ने अवसर प्राप्त गर्यो। अब नेपाली टिम वेष्ट इण्डिजसँग सारजहाँमा खेलेर यही अक्टोबरमा ओमानमा छनोट चरणमा प्रतिस्पर्धाका लागि जानेछ।
टि–ट्वान्टी विश्वकपमा प्रवेश
नेपाल सन् २०१४ मा पहिलोपटक अन्तरराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ‘ट्वान्टी ट्वान्टी’ विश्वकपमा प्रवेश गरेको थियो। बङ्गलादेशमा भएको उक्त प्रतियोगितामा पहिलो पटकको प्रवेशमै नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाएको थियो। नेपाली टिम सन् २०२४ मा १० वर्षपछि आइसिसी पुरुष ‘टि ट्वान्टी’ विश्वकपमा पुनः प्रवेश गर्न सफल भएको थियो।
नेपालले विश्वकपमा सहभागिता जनाउन पाएको अवसरको मूल कारण नेपालले क्रिकेटमा गरेको यथोचित प्रगतिलाई मान्न सकिन्छ। विश्वकपका सिलसिलामा नेपाली खेलाडीहरुले विश्वका उत्कृष्ट टिमहरुसँग खेल्ने अवसर पाउनु सानो उपलब्धि होइन। अनुभवी खेलाडीहरुसँग खेल्दा हासिल भएको ज्ञानले नेपाली खेलाडीलाई अझै पारङ्गत गर्दै लगेको महसुस गर्न सकिन्छ। यसअघि नेपालले सन् २०२३ को एशिया कप जस्तो महत्वपूर्ण क्षेत्रीय प्रतियोगितामा पहिलो पटक उपस्थिति जनाएर भारत, पाकिस्तान जस्ता बलिया प्रतिस्पर्धीहरुको सामना गरेको थियो।
आगामी विश्वकपको तयारी
नेपाल अहिले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने टि ट्वाण्टी विश्वकप क्रिकेटको तयारीमा रहेको छ। यसै सिलसिलामा नेपाली राष्ट्रिय क्रिकेट टिम लामो अबधिको अष्ट्रेलिया भ्रमणबाट मिश्रित नतिजाको अनुभव बटुलेर स्वदेश फर्केको छ। नेपाली टोलीले पहिलो पटक डार्विनमा आयोजित टप इण्ड टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनुका साथै अष्ट्रेलियाली टिमसँग अभ्यास खेल खेलेको थियो। आगामी पुरुष विश्वकपको छनोट चरण पार गर्नका लागि क्यानले नेपाली टिमको व्यस्त तालिकाको व्यवस्थापन गरेको छ।
टिमले नेपाल तथा भारतमा प्रशिक्षण गर्नुका साथै अष्ट्रेलियाको भ्रमण गरेको थियो। क्यानले नेपालकै अर्को क्रिकेट टिम बनाएर भारतको आसाममा अभ्यास म्याच खेल्न पठाएको थियो। नेपाली टिम अब सेप्टेम्बरको अन्तिम हप्ता वेष्ट इण्डिजसँग अभ्यास म्याच खेलेपछि अक्टोबरमा ओमानमा छनोट चरणमा प्रतिस्पर्धाकालागि जानेछ। र क्यानले राष्ट्रिय टिमकालागि ब्यस्त तालिकाको ब्यवस्थापन गरेर विश्वकप छनोट लागि बलियो आधार बनाउँदै लगेको महसुस गर्न सकिन्छ।
अष्ट्रेलिया भ्रमणको उपलब्धि
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको अष्ट्रेलिया भ्रमण सशक्त प्रदर्शनका साथै शृङ्खला शैलीमा समाप्त भएको थियो। नेपाली टिमका कप्तान रोहित पौडेलको शतकसँगै साउथ अष्ट्रेलिया टिमलाई दुई विकेटले पराजित गर्दै नेपालले अष्ट्रेलिया भ्रमणको सुखद् अन्त्य गरेको थियो। भ्रमणको क्रममा नेपालले विभिन्न म्याचमा भोगेको पराजयको आधारमा आलोचना समेत खेप्नु भएका कप्तान पौडेलले अन्तिम खेलमा आफू लयमा फर्किएको प्रमाणित गर्दै सानदार प्रदर्शनका साथ १०१ रन बनाउन सफल भएका थिए।
नेपालका लागि अष्ट्रेलिया भ्रमण टिमको समग्र अवस्थाको मूल्याङ्कनका लागि महत्वपूर्ण रह्यो। नेपाली खेलाडीहरुले विभिन्न खेलमा अभ्यास गर्ने अवसर पाउनुका साथै अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने मौका प्राप्त गरेका थिए जुन ‘टि ट्वान्टी’ विश्वकपको छनोट चरणका लागि सहयोगी हुने अपेक्षा गरिएको छ। विभिन्न खेलमा खेलाडीहरुको वर्तमान क्षमताको अवस्था थाहा हुनुका साथै आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष स्पष्ट भएको थियो। नेपाली टिमले विश्वकप छनोटका लागि लिनुपर्ने रणनीतिका लागि पनि क्यानलाई यो भ्रमणले मार्गनिर्देशन दिएको छ।